कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा एयरफोन चोरीको निहुँमा कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले मृतककै भाइ र भाञ्जालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा उनका सहोदर भाइ ३३ वर्षीय पदम गिरी र भाञ्जा १८ वर्षीय प्रदीप बोहरा पक्राउ परेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार असार २८ गते राति प्रदीपले आफ्नो एयरफोन चोरी भएको भन्दै गणेशमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका गणेशको ३० गते मृत्यु भएको थियो ।
गणेशको शव परिवारले परम्परागत तरिकाले घरनजिकै गाडेका थिए । बिहीबार उनको भान्जाबाटै हत्या भएको खुलेपछि कैलाली प्रहरीले गाडिएको शव उत्खनन् गरेको थियो ।
हत्याको मुख्य आरोपी भान्जा र सहोदर भाइ पदम मतियारको भूमिकामा संलग्न देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया