दीपक खड्कालाई थुनामै राख्न सर्बोच्चकाे आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले आज थुनामै राख्न आदेश दिएको हो ।

सर्वोच्चले यस मुद्दाको पेसी भोलिका लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ ।

खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।