दुबईले दियाे रमजानका अवसरमा १२८

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भोगिरहेका नेपालीहरूलाई पवित्र रमजानको अवसरमा माफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार मानवनीय आधारमा गरिएको उक्त निर्णयले दुई देशबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण बनाउने विश्वास लिइएको छ। साथै, यस कार्यको उच्च मूल्यांकन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारको पहल र अबुधाबीस्थित नेपाली दूतावासको समन्वयमा उक्त आममाफी सम्भव भएको हो ।