विवादित मुद्दासँग सम्बन्धित व्यक्तिलाई न्यायाधीशले भेटेकाे सम्बन्धमा छानविन गर्न बार एशाेसिएशनकाे माग

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएकाे भेटघाटकाे विषयमा छानबिन गर्न माग गरेकाे छ ।

बारले उनीहरुकाेबीच भएको भनिएको संवाद तथा भेटघाटबारे सार्वजनिक भएका विवरणको निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिन गर्न माग गरेको हाे ।

आज एक विज्ञप्ति जारी गर्दै बारले न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा आएका समाचारका रूपमा मात्र सीमित राख्न नहुने बताएको हाे।

सर्वोच्चका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटका विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । प्रधानन्यायाधीशलाई समेत जोडेर समाचार प्रकाशित भएपछि यसले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ ।

बारले सार्वजनिक भएका समाचारमा उल्लिखित आरोपलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिको दोष प्रमाणित भइसकेको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ । प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानुनबमोजिमको न्यायिक प्रक्रियाको प्रत्याभूति हुनुपर्ने बारको धारणा छ ।

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै बारले न्यायपालिकाप्रतिको जनआस्था कायम राख्नु न्यायिक नेतृत्व, न्यायाधीश, कानुन व्यवसायी र समग्र राज्य संयन्त्रको साझा दायित्व भएको जनाएको छ ।

बारले सम्बन्धित सक्षम निकायलाई सार्वजनिक भएका विषयमा निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । कानुनविपरीत कार्य भएको प्रमाणित भएमा पद वा हैसियतको परवाह नगरी कानुनबमोजिम कारबाही गर्न पनि बारले माग गरेको छ ।