देश गम्भीर अवस्थामा पुगेको भन्दै आन्दोलनको तयारीमा रहन ओलीकाे आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै यसको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछाडि हटे देशको रक्षा गर्न नसकिने दाबी गरे ।

“देश क्रिटिकल अवस्थामा छ। यस्तो स्थितिबाट हामीले नै देशलाई पार लगाउनुपर्छ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ। आन्दोलन शब्द सुन्नै नहुने मानसिकता बनाउनु हुँदैन। आन्दोलनले नै शक्ति आर्जन गर्ने हो,” ओलीले भने, “यति असहज र अप्ठ्यारो परिस्थितिमा आन्दोलनबाहेक अन्य बाटो रोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले नै पार्टीलाई टिकाउने, अघि बढाउने र जिताउने हो।”

अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नारा दिएर जनतालाई धोका दिइरहेको आरोप लगाए। वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।

“दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्ति भनेर घाँटीका नसा फुल्ने गरी कराउँछन् र दुनियाँलाई धोका दिन्छन्। तर व्यवहार भने मान्छे मराउने षड्यन्त्रको गर्छन्। त्यसैलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, कुटपिट गर्ने र आतङ्क फैलाउने षड्यन्त्र भइरहेको छ,” उनले थपे, “कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतङ्कको राज सिर्जना गरिएको छ। बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी! के पुलिससँग ड्रेस छैन? बर्दी नलगाई जाने पुलिस गुण्डा हो र? बिनाबर्दी जाने, बलजफ्ती ढोका फोरेर भित्र पस्ने काम भइरहेको छ।”

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको टिप्पणी गर्दै सिंगो राज्य नै नागरिक स्वतन्त्रता प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको दाबी गरे। उनले चाडपर्व (तिहार तथा छठ) लत्तै वा जुनसुकै समयमा हुन सक्ने आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।

“राज्य फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ। यस्तो अवस्थामा हामीले आन्दोलनकारी ढङ्गले अघि बढ्नुको विकल्प छैन,” ओलीले निर्देशन दिँदै भने, “अहिले होस् वा तिहार-छठपछि, हामी भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ। आगामी निर्वाचनमा एमालेलाई घेराबन्दी गरेर हराउन खोज्नेहरूको सपनालाई दिवास्वप्नमा परिणत गरिदिनुपर्छ।”