एमालेकाे केन्द्रीय कमिटीअघि फेरि सचिवालय बैठक बस्दै

काठमाडौं : । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदनलाई लिएर पार्टीभित्र सहमति जुटाउने प्रयास भइरहेको छ। प्रतिवेदनका केही विषयमा अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाएपछि हिजाे स्थगित भएको सचिवालय बैठक आज सोमबार बिहान पुनः बोलाइएको छ।

सचिवालय स्रोतका अनुसार कार्यदलले आइतबार तयार पारेको माइन्युटप्रति ओली सहमत नभएपछि केन्द्रीय कमिटी बैठकअघि बिहान ९ बजे सचिवालय बैठक बोलाइएको हो। कार्यदलको प्रतिवेदनमा ओलीले विशेषगरी दुई विषयमा आपत्ति जनाएका छन्। कार्यदलले तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गर्ने तयारी गरे पनि महासचिव शंकर पोखरेलले तयार पारेको पहिलो प्रतिवेदनलाई आधार बनाएर तीन बुँदा संशोधन गरी सचिवालयमा पेश गरेको बताइएको छ।

सचिवालयका एक पदाधिकारीका अनुसार १३ समूहबाट प्राप्त सुझावलाई कुनै थपघट नगरी हुबहु प्रतिवेदनको अनुसूचीमा राख्ने विषयमा ओली सहमत छैनन्। प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्तावमा पनि उनको असहमति रहेको ती पदाधिकारीले बताएका छन्। कार्यदलमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिव डा. राजन भट्टराईसहितका बहुमत सदस्य भने ओलीले आपत्ति जनाएका विषय हटाउने पक्षमा नरहेको स्रोतको दाबी छ।

यही विषयमा सहमति नजुटेपछि आइतबारको बैठक स्थगित भएको थियो। सोमबार बिहान बस्ने सचिवालय बैठकमा पनि दुई विषयमा सहमति जुट्ने सम्भावना कम रहेको ती पदाधिकारीले बताएका छन्। एमालेको केन्द्रीय कमिटी बैठक भने सोमबार ललितपुरमा बस्दैछ।