राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमतिसहित एमालेकाे सचिवालय बैठक सकियाे

काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउन सहमति गरेको छ । भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तयका लागि आज अपरान्ह बसेको सचिवलाय बैठकले यस्ताे निर्णय गरेको हो ।

१० औं सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताए । कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोडमा पुर्‍याएको छ ।

उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पाेखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसलाई अनुमोदन गरिएको हाे ।

पछिल्लो प्रतिवेदन भने अध्यक्ष केपी ओलीको निर्देशनअनुसार पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले तयार गरेका थिए । यो प्रतिवेदनमा देशभरबाट आएका सुझावलाई अनुसूचि बनाएर राख्ने र ‘ओलीको तत्काल राजीनामा (पूनर्गठन) ‘ शब्दलाई हटाइएको छ । कार्यदल, सचिवालय बसेसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेण्डा तय भएका छन् ।