काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्ताबेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्ने बताएका छन् ।
आज संविधान दिवसको अवसरमा शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका छन् । लोकतन्त्रमा नागरिकको सर्वोच्चता नै सर्वोपरि हुने भन्दै उनले संविधानले कल्पना गरेको न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणमा सबै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए ।
मुलुकले संविधान दिवस मनाइरहँदा हालै आएको बाढीपहिरो र विपद्ले पुर्याएको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरे । ‘यस वर्ष हामीले संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा छ,’ उनले भने, ‘कयौँ नेपालीले प्रियजन र घरजीवनको सहारा गुमाउनुभएको छ । म यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले नेपालको संविधानलाई जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलको रूपमा स्मरण गरे । उनले भने, ‘नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला हो ।’
उनले संविधानले जनतालाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान दिएको उल्लेख गर्दै प्रदेशहरूको स्थापना, एकात्मक शासन प्रणालीको अन्त्य र बहुलवादमा आधारित समावेशी नेपालको निर्माणलाई प्रमुख उपलब्धिका रूपमा चर्चा गरे।
यद्यपि, संविधानमा लेखिएका कुराहरूलाई व्यवहारमा उतार्न अझै चुनौती रहेको उनले औँल्याए । ‘संविधानले नागरिकका आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा गरेको छ, तर यसलाई व्यवहारमा अनुवाद गर्न नसके लोकतन्त्र बलियो हुँदैन,’ उनले भने, ‘संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक, अधिकार र समृद्धि सुनिश्चित गर्न नसकेसम्म यो सम्भव छैन ।’










प्रतिक्रिया