काठमाडौं । हरितालिका तीजको अवसरमा उप्रेती समाजसेवा समिति (केन्द्रीय समिति) ले पशुपतिनाथ दर्शनका लागि पुगेका भक्तजन तथा सर्वसाधारणलाई निःशुल्क मही वितरण गरेको छ।

समितिले तीजका दिन आज बिहान ३ बजेदेखि पशुपतिनाथ परिसरमा निरन्तर मही वितरण गरेको हो। व्रत बसेर दर्शनका लागि पुगेका महिला तथा अन्य भक्तजनलाई गर्मी र भीडका बीच केही राहत पुगोस् भन्ने उद्देश्यले मही वितरण गरिएको समितिका केन्द्रीय सदस्य तथा प्रकाशन विभाग प्रमुख नन्द उप्रेतीले जानकारी दिए ।

उनका अनुसार दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित करिब १ हजार ५ सय लिटर मही निःशुल्क वितरण गरिएको थियो। यसबाट करिब ५ हजारदेखि ६ हजार भक्तजन लाभान्वित भएको समितिको अनुमान गरेकाे छ।

मही खरिद तथा वितरणमा करिब १ लाख रुपैयाँ खर्च भएको थियो। उक्त रकम समितिका केन्द्रीय सदस्य तथा आजीवन सदस्यहरूले स्वेच्छिक रूपमा संकलन गरेका थिए। सदस्यहरूले प्रतिव्यक्ति ५ सयदेखि २ हजार रुपैयाँसम्म सहयोग गरेका थिए।
उप्रेती समाजसेवा समितिले विगत चार वर्षदेखि तीजका अवसरमा पशुपतिनाथमा भक्तजनलाई निःशुल्क मही वितरण गर्दै आएको छ। धार्मिक पर्वलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको समितिले जनाएकाे छ ।
तीजका दिन बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको ठूलो भीड लाग्ने र लामो समयसम्म लाइनमा बस्नुपर्ने भएकाले मही वितरणले विशेषगरी व्रतालु महिला तथा अन्य भक्तजनलाई राहत पुगेको समितिको भनाइ छ।
बत्तीसपुतलीमा सम्पर्क कार्यालय रहेको समिति करिब ३० वर्षअघि स्थापना भएको हो। धार्मिक पर्वका अवसरमा सेवा प्रदान गर्नुका साथै समितिले रक्तदान, ज्येष्ठ नागरिक सम्मान तथा कृषि, कला, संस्कृति र महिला सशक्तीकरणका क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।










प्रतिक्रिया