बाबुराम कार्की
वराहक्षेत्र । चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जायमान हुन्छ । सप्तकोशी नदी किनारमा फैलिएको सिमसार, फाँट र घाँसेमैदानमाथि उडिरहेका चराका बथानले आरक्षलाई जीवन्त बनाइरहन्छ । हरेक बिहान र साँझ चराको सामूहिक स्वरले आरक्षको वातावरण झनै मनमोहक बन्छ ।
कोशी र मधेश प्रदेशको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको १७५ वर्ग किलोमिटर क्षेत्रफलको आरक्षमा दुर्लभ तथा बसाइँसराइ गर्ने चरा प्रत्येक वर्ष आउने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार साइबेरिया, मङ्गोलिया तथा मध्यएसियाका विभिन्न भूभागबाट हजारौँ किलोमिटर यात्रा गरी चरा जाडो छल्न कोशीटप्पु आइपुग्ने गरेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार हालसम्म ५३५ प्रजातिका चराको अभिलेख गरिएको छ । आरक्षित जङ्गलमा २० प्रकारका साना ठुला जनावर पाइने वरिष्ठ संरक्षण अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावर आरक्षका जङ्गलमा सजिलै देख्न सकिन्छ । ५०२ प्रकारका सपुष्षक, ७७ प्रजातिका पुतली, ४० प्रजातिका स्तनधारी जनावर, १४१ प्रजातिका माछा, ५७ प्रजातिका ढाड नभएका जनावर, १८ प्रकारका जडीबुटी, ३३ प्रकारका डालेघाँस, २२ प्रकारका खानयोग्य वनस्पति र १२ प्रकारका उन्यु आरक्ष क्षेत्रमा पाइने आरक्ष कार्यालयले जनाएको छ ।
जलचर, सिमसारमा आश्रित चरा, सिकारी चरा तथा दुर्लभ प्रजातिका चराको उपस्थितिले कोशीटप्पुलाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रका रूपमा परिचित गराएको छ । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षणलाई नेपालकै पहिलो रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । आरक्ष दुर्लभ जङ्गली अर्नाको प्रमुख बासस्थानका रूपमा पनि परिचित छ । चरा अवलोकनका लागि हरेक वर्ष आन्तरिक तथा विदेशी पर्यटक कोशीटप्पु आउने गरेका छन् । बिहान र साँझ चराको गतिविधि अवलोकन गर्न आउने पर्यटकका कारण स्थानीय पर्यटन व्यवसायलाई पनि टेवा पुगेको स्थानीय नेचर गाइड विमल तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा होमस्टे, डुङ्गा सयर र प्रकृति पदयात्राप्रति आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।
कोशीटप्पुको प्राकृतिक सौन्दर्यसँगै संरक्षणमा चुनौती पनि बढिरहेको बताइन्छ । सप्तकोशी नदीको बदलिँदो धार, बाढी, मिचाहा वनस्पतिको विस्तार, जलवायु परिवर्तन तथा मानवीय गतिविधिका कारण चराको बासस्थान खुम्चँदै गएको चराविज्ञ अनिष तिम्सिनाले बताए । किसानले खेतबारीमा हाल्ने किटनाशक विषादीको बढ्दो प्रयोगले चराका लागि आवश्यक आहारा र प्राकृतिक वातावरणमा समेत नकारात्मक असर परेको उनको भनाइ छ । जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको तिम्सिना बताउँछन् ।
चराको चिरबिरले गुञ्जिने कोशीटप्पु जोगाउन सकिए यसले प्रकृतिको सन्तुलन कायम राख्ने साथै पर्यटन, अध्ययन अनुसन्धान र स्थानीय अर्थतन्त्रलाई समेत दीर्घकालीन टेवा पु¥याउने छ । चराको मधुर स्वरले जीवन्त बन्ने कोशीटप्पु पूर्वी नेपालको प्राकृतिक सम्पदाको गौरव मानिन्छ । यसको संरक्षण गर्न सके मात्र भावी पुस्ताले पनि प्राकृतिक सम्पदाको अवलोकन गर्ने अवसर पाउने छन् ।









प्रतिक्रिया