कैलाली । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
हिजाे बिहान करिब १०:२० बजे बुङ्गल नगरपालिका-१० टुमेडामा अटो रिक्सा दुर्घटना भएको हो । टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।
अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र एक बालक अझै फेला पर्न नसकेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ ।
बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक बिरबहादुर ठगुन्नाले बताए ।










प्रतिक्रिया