काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्को साता चीनमा हुने शिखर सम्मेलनका अवसरमा भेटवार्ता गर्ने तयारी भएको छ ।
ह्वाइट हाउसले तीनै देशका राष्ट्रपतिबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुन लागेको जानकारी दिएको हो ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्प चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागी हुने क्रममा तीनै नेताबीच भेटवार्ता हुने बताएकी छन् ।
उनका अनुसार ट्रम्पले विश्वमा आणविक हतियारको सङ्ख्या घटाउनेलगायत विभिन्न विषयमा छलफल गर्ने स्पष्ट पारिसकेका छन् । आणविक हतियारको विस्तार अत्यन्त खतरनाक रहेको ट्रम्पको बुझाइ रहेको उनले बताइन् ।
विश्वका तीन ठूला आणविक शक्तिका नेताबीच हुने उक्त बैठकमा इरानको विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ । तर, युक्रेनको विषय भने छलफलमा नउठ्ने बताइएको छ । यद्यपि, रुस र चीनले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० र रोयटर्सका अनुसार अमेरिकी एक वरिष्ठ अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा उक्त वार्तापछि कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् ।
ट्रम्प बुधबार राति अबेर सेन्जेन पुग्नेछन् । त्यहाँ २१ सदस्य राष्ट्र सहभागी दुईदिने एपेक सम्मेलन आयोजना हुनेछ ।
बिहीबार उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छुट्टै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । सन् २०२५ मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ ।
ह्वाइट हाउसकी प्रवक्ता वेल्सले ट्रम्पले आफ्नो चीन भ्रमणको समापन चिनियाँ र रुसी राष्ट्रपतिसँगको भेटवार्ताबाट गर्ने बताएकी छन् ।
उनका अनुसार ट्रम्प यस भ्रमणका क्रममा मंगलबार फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० सम्मेलनमा पनि सहभागी हुनेछन् ।
अमेरिकी नागरिकका लागि ऐतिहासिक उपलब्धि हासिल गर्नु र हिन्द(प्रशान्त क्षेत्रमा अमेरिकी हितलाई अघि बढाउनु भ्रमणको मुख्य उद्देश्य रहेको उनले बताइन् ।
आणविक हतियार नियन्त्रणमा नयाँ सम्झौताको प्रयास
अमेरिका र रुसबीच आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो ।
त्यसयता विश्वका सबैभन्दा ठूला आणविक हतियार भण्डार भएका यी दुई मुलुकबीच हतियार नियन्त्रणका लागि कुनै ठूलो सम्झौता कायम छैन ।
यससँगै शीतयुद्धको अन्त्यतिर विकसित भएको आणविक हतियार नियन्त्रणसम्बन्धी सहकार्य पनि समाप्त भएको छ । संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकलाई जतिसक्दो चाँडो नयाँ सम्झौता गर्न आग्रह गर्दै आएको छ ।
ट्रम्पले भने पुरानो सम्झौताको सट्टा चीनलाई समेत समेटेर अझ राम्रो सम्झौता गर्न सकिने बताउँदै आएका छन् । चीनले पनि आफ्नो आणविक हतियार भण्डार विस्तार गरिरहेको छ ।
अमेरिकाका पूर्ववरिष्ठ अधिकारी र विज्ञहरूले नयाँ सम्झौतामा चीन र रुस दुवैलाई सहभागी गराउनु निकै कठिन हुने र यसका लागि वर्षौं लाग्न सक्ने बताएका छन् ।
यस वर्षको सुरुवातमा सी जिनपिङले केही दिनको अन्तरालमा पुटिन र ट्रम्प दुवैलाई बेइजिङमा स्वागत गरेका थिए । त्यस्तै, अमेरिकी राष्ट्रपतिले सेप्टेम्बरमा चिनियाँ राष्ट्रपतिलाई वासिङ्टनमा स्वागत गरेका थिए ।
रुस र चीनको बढ्दो निकटता
सन् २०२२ मा युक्रेनमाथि ठूलो स्तरको सैन्य आक्रमण सुरु गरेपछि चीन रुसको महत्त्वपूर्ण व्यापारिक साझेदार बनेको छ ।
युक्रेनमाथिको आक्रमणपछि रुस धेरै मुलुकबाट कूटनीतिक रूपमा अलग्गिएको छ भने पश्चिमा देशहरूले उसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।
तर, गत महिना रुसबाट डिजेल खरिद गर्ने विषयमा अमेरिकाले गरेको विवादास्पद सम्झौता र रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तामाथिका प्रतिबन्ध रोक्ने निर्णयले युरोपेली मुलुकहरूलाई चिन्तित बनाएको छ ।
यसले ट्रम्प प्रशासनले रुसप्रतिको आफ्नो कडा नीति खुकुलो बनाउँदै लगेको हो कि भन्ने आशङ्का युरोपेली मुलुकहरूमा बढाएको छ ।
अमेरिका-चीन सम्बन्धमा अझै चुनौती
यसैबीच, ट्रम्प र सी जिनपिङले यस वर्ष बेइजिङ र वासिङ्टनमा भएका भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध सुधार गर्ने प्रयास गरेका छन् ।
तर, व्यापार तथा एआई प्रविधिमा प्रतिस्पर्धा र ताइवानजस्ता महत्त्वपूर्ण विषयमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
इरानमा जारी युद्ध पनि अमेरिका र चीनबीच मतभेदको एउटा प्रमुख कारण बनेको छ । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हुनुका साथै इरानको प्रमुख व्यापारिक साझेदारसमेत हो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रबार विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै सी जिनपिङले एपेक सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय वार्तामा सहभागी हुने जनाएको छ ।
तर, तीन देशका राष्ट्रपतिबीच हुने भनिएको त्रिपक्षीय बैठकबारे भने चिनियाँ सरकारी सञ्चारमाध्यमले कुनै जानकारी दिएका छैनन् ।
यसै महिनाको सुरुवातमा रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै सम्मेलनका क्रममा यस्तो भेटवार्ताको तयारी भइरहेको सङ्केत देखिएको बताएका थिए ।










प्रतिक्रिया