काठमाडाै । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही र एसपी कमल थापा मुछिएको ‘हनी ट्रयाप’ काण्डलाई अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ह्याण्डलिङ गर्न थालेको छ ।
एक व्यापारीलाई बलात्कार मुद्दामा फसाई दिने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआइबीलाई जिम्मा दिएको हो । अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल बुधबार नै पठाइसकिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइ दिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको उपस्थितिमा ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भए पनि अन्तिममा ३० लाखमा सहमति गरेको अनुसन्धानबाट खुलेको थियाे ।
सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकी नामको खातामा हालिदिएको खुलेको प्रहरीले जनाएको छ । बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँ अर्को दिन बैंकमा गएर फेरि बुढाथोकीकै नाममा बैंकमा जम्मा गर्न लगाएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
ललितपुर प्रहरीका अनुसार, इटहरीबाट पक्राउ गरेर ल्याउँदा बुढाथोकीले आफ्नो एटिएम, चेक लगायत इस्लामले नै चलाउने गरेको बयान दिएकी छन् । संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेका बेला घटनामा सिनियर अफिसरको समेत संलग्नताको कुरा आएको र अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले सीआइबी पठाइएको खनालले जानकारी दिए ।
यस घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो ।संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरिसकेको छ ।
अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैंसेपाटीमा इञ्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको छ । तर उनी अझै फरार छिन् । अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको उनले जानकारी दिए । यही टोलीले दरबारमार्गमा हुँदा पनि हनी ट्रयापमा पारी १६ लाख रकम असुली गरेको पक्राउ परेका ताजले बयानमा बताएका छन् ।
प्रतिक्रिया