काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमाआगामी बिहिबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज मोन्था चक्रवातको प्रभावबारे जानकारी दिन जारी गरेको विशेष बुलेटिनमा नेपालमा मोन्था चक्रवातको प्रभाव तीन दिन रहने उल्लेख गरेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज( मंगलबार) राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिने विभागले जनाएको छ ।
विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ । चक्रवातले नेपालको मधेश र कोशीमा भारी वर्षा गराउने सम्भावना भएकाले नदीहरुमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
विभागका अनुसार हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स(साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
विशेषगरि बागमती प्रदेशका काठमाडौंउपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स(साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।
संभावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरुमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा ९११५५० तथा लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।










प्रतिक्रिया