धनकुटा । आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन । उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लाको सिमेन्ट आपूर्तिमा समेत असर परेको छ ।
छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उद्योगको दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उत्पादन क्षमता घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलको भनाइ छ । तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको र पुनः सञ्चालनको सम्भावना पनि नरहेको उनको भनाइ छ ।
सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै पौडेल बताउनुहुन्छ । उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसकेको सञ्चालकको भनाइ छ । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन दैनिक १५० टनमा सीमित हुने गरेको थियो ।
भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्ट बिक्रीमा कमी आउनुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए । उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारले अन्य जिल्लाका सिमेन्ट उद्योगबाट आपूर्ति गर्नुपर्ने अवस्था आएको छ ।
उद्योग बन्द हुँदा स्थानीय अर्थतन्त्र प्रभावित
निगाले सिमेन्ट बन्द हुनु उद्योग सञ्चालकको मात्र समस्या नभई समग्र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ । उद्योग बन्द भएपछि प्रत्यक्ष रुपमा काम गर्ने मजदुर र प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी तथा उद्योगमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन् । कोरोना महामारीपछि देशभर देखिएको आर्थिक सङ्कटको असर धनकुटाका साना तथा मझौला उद्योगमा परेको धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीराम रायमाझीले बताए ।
उद्योग पुनः सञ्चालनका लागि सङ्घले समस्याको पहिचान गरी आवश्यक पहल गर्ने तयारी गरेको रायले जानकारी दिए । स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या तथा कच्चा पदार्थ आपूर्तिसम्बन्धी समस्या भए त्यसको समाधानका लागि पहल गर्न सकिने उनको भनाइ छ । तर, समस्या उद्योग सञ्चालककै आन्तरिक कारणसँग सम्बन्धित भए सङ्घले प्रत्यक्ष रुपमा समाधान गर्न नसक्ने उनले बताए । तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारी पक्षबाट ठोस पहल हुन नसकेको रायको भनाइ छ ।
उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले बताए । उनले आन्तरिक कारणले बन्द भएकाले कुनै पहल गर्न नसकेको बताउँदै स्थानीयको कारणले वा अन्य कारणले भन्ने जानकारीमा नआएको बताए । उद्योग बन्द हुँदा स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो असर परेको उनको भनाइ छ । उद्योगमा कार्यरत मजदुर, प्राविधिक कर्मचारी, ढुवानी व्यवसायी र उद्योगसँग जोडिएका स्थानीय पसल तथा व्यवसायसमेत प्रभावित भएका छन् ।
विद्युतको १६ करोड र गाउँपालिकाको २२ लाख बक्यौता
उद्योगको आर्थिक सङ्कटलाई थप जटिल बनाउने अर्को विषय विद्युत् महसुल र गाउँपालिकाको बक्यौता बनेको छ । नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख आठ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी छ । समयमै महसुल भुक्तानी नहुँदा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए । ठूलो रकमको विद्युत् महसुल बक्यौता पनि उद्योग पुनः सञ्चालनका लागि चुनौती बनेको छ ।
यस्तै, उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले छथर जोरपाटी गाउँपालिकालाई बुझाउने सहमति भएको गाउँपालिका अध्यष सुब्बाले जानकारी दिए । सुरुका वर्षमा उद्योगले गाउँपालिकालाई रकम बुझाउने गरे पनि पछिल्लो समय उक्त रकम भुक्तानी नगर्दा करिब २२ लाख रुपैयाँ बक्यौता रहेको अध्यक्ष सुब्बाले बताए ।










प्रतिक्रिया