आजदेखि छठ पर्व सुरु

जनकपुरधाम  । सूर्यदेवको आराधना र नारी श्रद्धाको प्रतीक छठ पर्व आजदेखि सुरु भएको छ। चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन आज ‘नहाय-खाय’ मनाइदैछ ।

आज व्रतालुहरूले बिहान नदी, पोखरी वा जलाशयमा स्नान गरी शुद्ध मनले अरवा–अर्बाइन भोजन ग्रहण गर्छन्। अन्न र अर्बाइन पकवानलाई पवित्रता र संयमको प्रतीकका रूपमा ग्रहण गरिन्छ ।

भोलि आइतबार दोस्रो दिन ‘खरना’ मनाइने छ । साँझपख व्रतालुहरूले दूध, चामल र सक्खर मिसाएर खीर तयार गरी सूर्यदेवलाई अर्पण गर्छन् । त्यसैलाई प्रसाद स्वरूप ग्रहण गरी निराहार व्रत सुरु गर्छन्।

तेस्रो दिन सोमबार छठको मुख्य दिन ‘सन्ध्या अर्घ्य’का रूपमा मनाइन्छ । यस दिन अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहिआएको छ। चौथो दिन मंगलबार बिहान ‘उषाकालीन अर्घ्य’ दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।

अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।

तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैँ सिँगारिने क्रम जारी छ ।