स्थानीय तहका जनप्रतिनिधिलाई महासचिव पोखरेलको निर्देशन : जनताको आलोचना होइन विश्वास जित्नुहोस

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनप्रतिनिधिहरुलाई जनताको आलोचना होइन विश्वास जित्न निर्देशन दिएका छन् ।


पार्टीका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई आज पार्टी केन्द्रीय कार्यलय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनका समयमा जसरी जनतासँग विनम्रता प्रदर्शन गरियो चुनाव जितेपछि पनि त्यस्तै विनम्र व्यवहार गर्न आग्रह गरेका छन् ।


महासचिव पोखरेलले जनताले गल्ती गरे भनेर उनीहरुलाई होच्याउने र गाली गर्ने होइन उनीहरुलाई सम्झाउने जिम्मा पनि जनप्रतिनिधिकै भएको बताए । ‘जनताले गल्ती गरेर भनेर गाली गर्ने होइन । उनीहरुलाई सम्झाउने जिम्मा हाम्रो हो’ महासचिव पोखरेलले भने ‘जनतालाई सम्झाउनुहोस । उनीहरुसँग नजिक हुनुहोस र आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोस ।’


महासचिव पोखरेलले जनप्रतिनिधिले जनअपेक्षा अनुरुप काम गरे कि गरेनन् भनेर आगामी निर्वाचनले स्पष्ट पार्ने बताए । ‘तपाईंहरुले कस्तो काम गर्नुभयो भनेर आगामी निर्वाचनपछि मूल्यांकन हुन्छ’ महासचिव पोखरेलले भने ‘आउने चुनावपछि आफ्नै पार्टीका जनप्रतिनिधिलाई जिम्मा लगाउनुभयो भने तपाईंहरुले जनअपेक्षा अनुसार काम गरेको ठहर्छ । मूल्यांकन पनि त्यसै अनुसार हुन्छ ।’


एमालेका जनप्रतिनिधिले सुशासनको नेतृत्व गर्नुपर्ने बताए । प्रदेशका राजधानी भएका ठाउँका पालिकाहरुले प्रदेश सरकारले गरेका कामहरुको पनि निगरानी गर्न आग्रह गरेका छन् ।