अनर्ब चक्रवातकाे प्रभावका कारण वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ।

जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ।

उक्त प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना रहेको र अक्टोबर २८ अर्थात् कात्तिक १२ गते भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

चक्रवातको प्रभावका कारण कात्तिक १२ गतेदेखि नेपालको मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसँगै प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने विभागको आकलन छ।

सम्भावित मौसम जोखिमलाई ध्यानमा राख्दै विभागले हिमाली क्षेत्रका केही जिल्लालाई विशेष जोखिममा रहेको संकेतसहित रातो रङले चिह्नित गरेको छ।

प्रतिकूल मौसमका कारण यात्रा, दैनिक जनजीवन तथा कृषि क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।