पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ।

एमाले केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीसमक्ष पेश गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी छ। यसअघि २०८३ जेठ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो।

नेता भण्डारीको सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयलाई लिएर एमालेभित्र लामो समयदेखि बहस हुँदै आएको थियो। यसअघि उनको सदस्यता नवीकरणसम्बन्धी विषयमा पार्टीभित्र फरक–फरक निर्णय भएका थिए।

पछिल्लो समय एमालेमा नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला भण्डारी पार्टी राजनीतिमा पुनः सक्रिय भएकी हुन्। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक संरचना, नेतृत्व तथा विभिन्न कमिटी गठनसम्बन्धी विषयमा समेत छलफल भइरहेको छ।