त्रिशूली ३-ए सुरुङभित्रबाट निकालिए अर्का कविर महर्जन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको हो। आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार गरिएका कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्।

यस्तै, सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्। आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह पनि सोही प्रयोजनका लागि सुरुङ क्षेत्रमा पुगेको बताइएको छ।

बाढीपछि सुरुङभित्र फसेका उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। लामो खोजीपछि दुवै जनालाई जीवितै बाहिर निकालिएको हो।