काठमाडाैं । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही भक्तपुरको बालकोटस्थित आफ्नो कोठामा मृत फेला परेकी छन् ।
आज साँझ भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीले ढोका फुटाएर हेर्दा उनी घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन् । उनको छेउमा विषको बोतल फेला परेको प्रहरीले जनाएको छ, जसले आत्महत्याको आशङ्का बढाएको छ ।
२०७६ असोजमा जाजरकोटकी रोशनीले तत्कालीन सभामुख महरामाथि मादक पदार्थ सेवन गरी आफ्नो कोठामा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । यो आरोपले राजनीतिक वृत्तमा ठुलो हलचल मच्चाएको थियो । आरोपपछि महराले सभामुखबाट राजीनामा दिएका थिए र पक्राउ परेका थिए ।
तर, जिल्ला अदालत काठमाडौँमा पुगेको मुद्दामा रोशनीले पछि बयान फेर्दै महराको कुनै दोष नभएको बताएकी थिइन् । रोशनीका छोरा र छोरी अमेरिकामा बस्छन् । उनीहरू भेट्न गएका रोशनी र उनका श्रीमान् केही समयअघि मात्र नेपाल फर्केका थिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया