पेस्तोल डान्सले जसपामा हंगामा, प्रहरीले बबीलाई बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै जसपाभित्र हंगामा भएको छ । बुधबार सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताएका छन् ।

भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनले बताएका छन् । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउँछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउँला’, एसपी ढकालले भने । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा। बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
उनले पेस्तोल बोकेर नाचेको भिडिओ आएपछि जसपाभित्र पनि छलफल भैरहेको छ । उनी किन र के का लागि त्यसरी नाचेकी थिईन भन्ने बहस पार्टीभित्र चल्न समेत थालेको छ ।