काेशी प्रदेशकाे लगानी सम्मेलन आजदेखि हुँदै, प्रधानमन्त्रीले सम्बाेधन गर्दै

काठमाडौं । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालले जानकारी दिए । लगानी सम्मेलनमा  सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।

सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो। लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।