बझाङ । खर काट्न गएका बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ।
गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्ने क्रममा भिरबाट खसेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।
भिरबाट खसेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको आफन्त रामचन्द्र जोशीले बताएका छन्। गम्भीर घाइते उनको अवस्था नाजुक भएपछि हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार वडाअध्यक्ष जोशीको अवस्था गम्भीर रहेको खबर पाएपछि जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायसँग समन्वय गरेर हेलिकोप्टर उडाउने तयारी भइरहेको थियो।
तर, उद्धारका लागि हेलिकोप्टर उड्नुअघि नै उनको मृत्यु भएको खबर आएको महरले बताए।
‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनहरूको भनाइपछि तुरुन्तै पहल गरिएको थियो,’ महरले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा उहाँ रहनुभएन भन्ने दुःखद खबर आयो।’
जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए।









प्रतिक्रिया