सहिदकाे परिवारलाई राेजगारी दिने प्रचण्डकाे प्रतिबद्धता

कैलाली ।नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताएका हुन् ।

सहिद र बेपत्ता योद्धा परिवारप्रति जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो । सहिदले देखाएको मार्गमा लाग्ने प्रण गर्दै सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको उनको भनाइ छ । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने पनि स्पष्ट पारेका छन् । सो अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे ।

यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको दाहालले उद्घाटन गरे । उनले सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको अवलोकन पनि गरेका छन् । आजै पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यसँग भेट्दै दाहालले सहिदको बलिदान खेर नजाने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई कैलालीका नेता कार्यकर्ताले परम्परागत तथा मौलिक परिकारबाट स्वागत गरेका छन् । मधेश हुलाकी मार्ग जागरण अभियानको अन्तर्गत कैलाली पुगेका माओवादी अध्यक्षसहितका पदाधिकारीहरूलाई स्थानीयले आफ्नै घरमा पाकेको थारु पहिचानसँग जोडिएका परिकार खुवाएका थिए। कैलारी गाउँपालिका ५ बैजपुरमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको लागि चामलको कनिकाबाट बनाइने खुडिक कपुवा खुवाइयो । मुसा, गँगटा र बयरको चटनी लोकल कुखुराको मासु, घोँघी, खरियालगायत परिकार स्वाद मानिमानी खाए । रासस