नेपाली राजनीतिलाई सस्ताे लाेकप्रियतावादबाट पुन: वास्तविक लाेकतन्त्रतर्फ नीतिगत सुधार गर्नु आवश्यक: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम)बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गरे ।

थापाले व्यक्तिकेन्द्रित चमत्कारिक दाबीहरूले क्षणिक उत्साह ल्याएपनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने स्पष्ट पारे । प्रभावकारी संस्था निर्माणका लागि लोकतान्त्रिक संस्कार, संस्कृति र संस्थागत प्रयास अपरिहार्य रहेको भन्दै उनले यस विषयमा गम्भीर राष्ट्रिय बहसको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए ।

उनले भने, ‘ नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्ने छ । व्यक्तिको चमत्कारले क्षणिक परिवर्तन ल्याउन सक्छ, तर दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ । त्यसका लागि राजनीतिक संस्कार, संस्कृति र संस्थागत प्रयास आवश्यक छन् । यस विषयमा बहसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ ।’

मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले न्यून आर्थिक वृद्धिदर र कमजोर स्रोत परिचालनका कारण देश लामो समयदेखि शिथिल अवस्थामा रहेको रहेको बताए ।  

उनले भने, ‘हाम्रो अर्थतन्त्र न्युन आर्थिक वृद्धि र कमजोर स्रोत परिचालनको अवस्थामा छ । नेपाल किन अगाडि बढ्न सकिरहेको छैनरु यसबारे गम्भीर बहस आवश्यक छ । त्यस्तै, यति धेरै संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि नेपाली समाजमा विभेदका पर्खालहरू किन भत्किन सकेका छैनन्र, यसको पनि गहिरो समीक्षा हुनुपर्छ । नेपाली कांग्रेस बहसबाट भाग्दैन, बहकिँदैन र गुनासो गरेर मात्रै बस्दैन। नेपाली समाजका आजका जटिल प्रश्नहरूको वैचारिक उत्तर दिने पार्टीका रूपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछु । यो मेरो अर्को प्रण हो ।’

संविधानले थुप्रै मौलिक हक र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिसक्दा पनि नेपाली समाजमा विद्यमान विभेदका पर्खालहरू किन भत्किन सकेनन् भन्ने विषयमा पनि गहन समीक्षा र विमर्श जरुरी रहेको उनको भनाइ रहेको छ ।