अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका हुन्।

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर, सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने बताए ।