काठमाडौं । जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा (रिजुका) गुरुङ मृत्यु प्रकरणमा एक वर्षपछि फैसला गरेको छ ।
डाक्टरको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट ०८० चैत्र २९ गते भीमाको मृत्यु भएको भन्दै जेठाजु नाता पर्ने धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै रिट दायर गराएका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने गरी फैसला गरेका हुन् । अदालतका सूचना अधिकारी उज्जलदेव रावलले मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएको जानकारी दिएका छन्।
पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीय भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल पुगेकी थिइन् । उनको पाठेघर सफा गर्दैगर्दा मृत्यु भएको थियो ।
प्रतिक्रिया