कांग्रसको पदाधिकारी बैठकः सरकारले गति बढाउनुपर्ने निष्कर्ष

काठमाडौ । नेपाली कांग्रेसले सरकारले आफ्नो गतिलाई बढाउनुपर्ने निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिल्कण्ठमा बसेको पदाधिकारी तथा मन्त्रीहरु सहभागी पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने समेत बताए।

उनले भने, ‘सरकारले सशक्त डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ। त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ। सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ।’

बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको उनले बताए।

उनले भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस्। त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ।’

सभापतिले आफूले प्रधानमन्त्रीसँग कुरा गरिरहेकाले नमिलेका कुराहरूमा सहमति जुट्ने बताएको सुनाए।