काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहान करिब ४ः५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको उनले बताए । उनका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुुन्धान गरिहेको छ ।
प्रतिक्रिया