पूर्व प्रदेशप्रमुख अहिराजमाथि बलात्कारको बात !

काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजमाथि बलात्कारको बात लागेको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी समेत भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले यस विषयमा प्रहरीले अनुसन्धान गरिहरेको बताए । उनले जाहेरवाला पक्षको दाबी पुष्टि हुनेरनहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने समेत बताए ।

जाहेरीमा डा.अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । पीडित उक्त विषयलाई लिएर शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी थिईन । पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो । सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले बताइन् । उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्यो । तर, अहिराज भने फरार रहेका छन् । जाहेरीवालको परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) राखिएको छ ।