सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबकाे १५ दिनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
सिरहा जिल्लाको ११औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरूले एमालेविरोधी भूलभूलैयामा नलाग्न आग्रह समेत गरे ।
उनले भने, ‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ । मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरू गरेँ । मधेसका समस्याहरू मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।
उनले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए ।
उनले थपे, ‘तपाईँहरू ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ । यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुत सरकार हो ।’
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए ।
प्रतिक्रिया