फेसबुकले साथ नदिदा दुर्गा अझै फरार

काठमाडौं । तीनकुनेमा शुक्रबार सम्पन्न राजावादी प्रदर्शनका मुख्य आयोजक तथा कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न फेसबुकको सहकार्य नपुग्दा चुनौती थपिएको प्रहरीले जनाएको छ।

आन्दोलनपछि भूमिगत भएका प्रसाईं सामाजिक सञ्जालमार्फत निरन्तर सक्रिय रहे पनि प्रविधिगत सीमितताका कारण उनलाई पत्ता लगाउन समस्या भइरहेको प्रहरीको दाबी छ।

भूमिगत भए पनि सामाजिक सञ्जालमा सक्रिय
शुक्रबार काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनमा नेतृत्व दिइरहेका प्रसाईं आन्दोलनपछि ललितपुरको इमाडोल पुगेका थिए।

त्यहाँबाट भूमिगत भए पनि उनी फेसबुक भिडियोमार्फत आफ्ना समर्थकहरूलाई सम्बोधन गरिरहेका छन्। आइतबार मात्र उनले एक भिडियो पोस्ट गर्दै आफू काठमाडौंकै एक मन्दिरमा सुरक्षित रूपमा बसेको दाबी गरेका थिए।

फेसबुक ट्रयाक गर्न नसक्दा समस्या

नेपाल प्रहरीका अनुसार प्रसाईंको मोबाइल स्विच अफ छ । जसका कारण उनलाई नियमित निगरानी गर्न कठिन भइरहेको छ। सामाजिक सञ्जालका आधारमा लोकेसन पत्ता लगाउने प्रयास गरे पनि फेसबुक कम्पनी (मेटा) को प्रत्यक्ष सहयोग बिना यो सम्भव नभएको बताइएको छ।