यस्ता छन् आजकाे प्रतिनिधसभा बैठकका कार्यसूचीहरु

काठमाडाैँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न कार्यसूचीहरु रहेका छन् ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । सांसद राजेन्द्र बजगाईंले ‘बाँदर र बँदेलको आतंकबाट किसानहरूलाई जोगाउन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक नीति तथा कार्यान्वयन’को माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

उक्त प्रस्तावलाई सांसद उदय शमशेर जबरा र सांसद संजय कुमार गौतमले समर्थन गरेका छन् । सांसद बजगाईंले कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन, तथा वातावरणीय सन्तुलन कायम राख्न नीतिगत पहल आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव दर्ता गरेका हुन् ।

नेपालका ग्रामीण क्षेत्रमा किसानहरूले बाँदर र बदेलको आतंकका कारण ठूलो क्षति भोग्दै आएका छन्। किसानहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक भएको भन्दै सांसद बजगाईंले सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन् ।