काठमाडौ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको न्याका लागि नेविसंघले दबाबमूलक प्रदर्शन गरेको छ ।
पद्मा कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा बागबजारमा प्रदर्शन गरेका हुन् । पद्मकन्या विद्यार्थीले ‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए ।
उता नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा कलेजले आफ्ना कर्मचारीहरुलाई निलम्बित गरेको छ ।
केआईआईटी कलेजले आज एक विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको जानकारी दिएको हो ।
कलेज प्रशासनले प्रकृति मृत्यु घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आइतबार केआईआईटीमा अध्ययनरत बुटवलकी लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । सो घटनापछि नेपाली विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई होस्टेलबाटै निकालेको थियो ।
प्रतिक्रिया