काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदमा आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ । रास्वपाले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्वनको बिरोधका साथै सरकारले जारी गरेको अध्यादेश अस्वीकार प्रस्ताव गर्नेसम्मको तयारी गरेको छ ।
पार्टीको संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताएका हुन्।
उनले सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय बैठकले गरेको समेत जानकारी दिए ।
उनले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए ।
उनले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गरे ।
उनले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने,‘मुख्य गरी दुई र विविधमा दुई वटा गरी चारवटा निर्णय गरेका छौं । संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधिन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेश गरेको छ । ती अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय गरेको छ । सरकारले राजनीतिक प्रतिसोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्वन गरेको छ । प्रतिनिधि सभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ । सभापति माथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध गर्ने,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदा विरोध गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैदान्तिक विमति होइन । तर नेप्सेलाई नै पुनःसंरचना गर्नुपर्छ । क्षमता बढाउनुपर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णय गरेको छ । विरोध गर्ने निर्णय भएको छ । ताप्लेजुङको पाथीभरामा जुन केवलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको रास्वपाले भर्त्सना गर्ने निर्णय गर्दछ । राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौं । न्याय दिन सरकारसँग आग्रह गर्दछौं ।’
आज बिहान दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो । पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई सहकारी ठगी तथा सम्पती शुद्धीकरणको मुद्दा लागेसँगै सांसद पदबाट निलम्विन भएका छन् ।
प्रतिक्रिया