चियाकाे विषयमा झगडा पर्दा साथीमाथि खुकुरी प्रहार

धरान । धरानमा चियाकाे पैसा तिर्ने विषयमा बिबाद हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएकाे छ । खुकुरी प्रहारबाट उनकाे मृत्यु भएकाे छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीहरूले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार रिजनको टाउको, बायाँ कुम, हातको हत्केला र कुहिनामा चोट लागेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको थियो । तर, गम्भीर घाइते रिजनको उपचारकै क्रममा मृत्यु भएकाे हाे।

घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान–५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन् ।

जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिए ।