अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक

काठमाडाै ।गृहमन्त्री रमेश लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा हिजाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताउदै दाेषीमाथि कारबाही हुने बताएका छन् ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्य प्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताए । हिजाे स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

उनले भने, ‘जोसुकैले गरे पनि यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकिलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ । बिजनेसम्यानले व्यापार गर्न पाउँछ। त्यसमा बाधा, व्यवधान गर्ने, उश्रृंखलता गर्ने, अराजकता गर्ने, कानून विपरीत काम गर्ने, जो सुकैलाई पनि दण्डित गरिन्छ। जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो। अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जोसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’