अष्ट्रेलिया जान खाेजिरहेका श्रेष्ठकाे दुर्घटनामा परी मृत्यु

भक्तपुर । भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटनामा परी निश्चलप्रकाश राजभण्डारीकाे मृत्यु भएकाेछ ।

दुर्घटना परि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

सोमबार सानोठिमीबाट मगरगाउँ जाँदै गरेको बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय राजभण्डारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो ।

थप उपचारका लागि बिहीबार नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । गम्भीर घाइते स्कुटर पछाडि सवार उनकी २८ वर्षीया श्रीमती पुजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखिएको छ । भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका आफन्तको भनाई छ ।मृतक युवक झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा हुन् । उनीहरु अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए । केही दिनअघि मात्रै मूलघर भद्रपुर गएका उनीहरु फेरि अस्ट्रेलिया जानको लागि काठमाडौँ आएका थिए ।