सुनसरी । सुनसरीको इटहरी उपमहानगर कार्यालय अगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाकाे डिस्पाेजलटाेलीले निष्क्रिय पारेकाे छ ।
आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालय अगाडि राखेको बम आज बिहानै नेपाली सेनाले निष्क्रिय पारेकाे हो ।
अन्य दुई ठाउँमा पनि त्यस्तै वस्तु रहेको सूचना पाएको पनि ती ठाउँमा केही फेला नपरेको प्रहरीले जानकारी दिएको छ । सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले दिएको जानकारी अनुसार अहिले इटहरीको अवस्था सामान्य छ।
एसपी तिम्सिनाका अनुसार आज बिहानै प्रहरीलाई एनसेलको एउटा नम्बरबाट बम राखेको सूचना आएको थियो । ‘हामी राजावादी समूह हौं । हाम्रो सशस्त्र संघर्ष सुरू भइसक्यो ।
इटहरी उपमहानगर अगाडि, बुढीखोला र धरानको भोटेपुलमा बम राखेका छौं, मानवीय क्षति नहोस् भन्नेमा सजग छौं भनेर म्यासेज आयो,’ तिम्सिनाले भने, ‘लगत्तै हामीले फलो गर्यौं ।’ उनका अनुसार इटहरी उपमहानगरअगाडि प्रेसर कुकरमा तार बेरेको झुक्याउने सामग्री फेला परेको थियो । ‘त्यसलाई निष्क्रिय पारिसकिएको छ । अरू दुई ठाउँमा केही फेला परेन,’ उनले भने ।










प्रतिक्रिया