काठमाडाै । उमागाैरी सहकारीकाे रकम ठगीकाे आराेपमा प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कोइरालाविरूद्व जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेकाे हाे ।
मोरङको कर्सीयास्थित उमागौरी सहकारी ठगी आरोपमा उनीसहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो ।
उक्त सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाेग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा उल्लेख छ ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र समेत पठाएको बुढाथोकीले बताए । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । अन्य प्रतिवादी फरार छन् । फरार प्रतिवादीको सूचीमा रङ्गेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्व उपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेकाे छ ।
प्रतिक्रिया