पत्रकार महासंघकाे कार्यालयमा तालाबन्दी गरेकाेप्रति बिष्टकाे आपत्ति

काठमाडाै । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालयमा लगाईएकाे तालाप्रति अध्यक्षका प्रत्यासी रमेश बिष्टले आपत्ति जनाएका छन्  । अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भैसकेकाे छ ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाँउले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ ।’

 उनले अगाडी लेखेका छन्, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

यस्तै महासंघकाे निर्वाचनमा सरकारी पक्षले बलकाे प्रयाेग गरेकाे भन्दै समाजवादी प्रेस संगठन नेपालले पनि आपत्ति जनाएकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै संगठनले आपत्ति जनाएकाे हाे ।निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिकहरूलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।’

यस्तै, अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चितता भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा जिकिर गरिएको छ । 

यस्तो कार्यको विरोध गर्दै विज्ञप्तिमार्फत अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न माग गरिएको छ ।  अन्यथा समाजवादी प्रेसले यसको प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।