बीआरआई नेपालमा कार्यन्वयन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाै प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेकोले कार्यन्वयन हुने बताएका छन् । चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन) सँगको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको बताउँदै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

ओलीले भने, ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्‍यौं । यो एक धेरै महत्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । यस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सबै क्षेत्रहरू समेट्ने परियोजनाहरू हुनेछन् ।’

उनले यो सम्झौताले नेपाल र चीनको विकास रणनीति बढाउने मात्रै नभएर स्वास्थ्य र पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री ओलीका अनुसार, बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुन्छ । उनले यस भ्रमणलाई आफ्नो तेस्रो सफल भ्रमणको रूपमा र विशेष रूपमा फलदायी रहेको बताए ।