काठमाडाै। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भाेली झापा जाने भएका छन् ।
दुई दिने गृह जिल्ला भ्रमणका लागि भाेली झापा जाने भएका हुन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा जाने तयारी गरेका हुन् ।
मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पुरा भएको अध्यक्ष गिरीको भनाई छ ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए यता ओली पहिलो पटक झापा आउन लागेका हुन् । झापा भ्रमणमा आउने अध्यक्ष ओलीलाई भव्य रुपमा स्वागत गर्दै हरेक कार्यक्रमहरुमा पार्टी कार्यकर्ताहरुको उपस्थिति गराइने जनाइएको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीले कार्यक्रम तालिका अनुसार आइतवार काठमाडौंबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक –३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।
यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया