शेखर विराटनगर छाेडेर चितवन जाने

काठममडाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्दै चितवन जाने भएका छन्। 

कोशी प्रदेशको सम्मेलन आज विराटनगरमा हुँदैछ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् ।

तर, कोइरालाले आफ्नै प्रदेशको सम्मेलन छाडेर  आज चितवन जाने भएका हुन् । चितवनमा हुने दुईवटा शोकसभामा कोइराला सहभागी हुने उनको सचिवालयले जनाएको छ । वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने निचोडमा पुगेको स्रोत बताउँछ । मञ्चमा सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग शेखरले राखेका थिए ।

तर, पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेर चितवन जाने भएका हुन् । कोइराला आज पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुनेछन् ।

प्रदेश समितिमा नेता कृष्ण सिटौला नजिकका उद्धव थापा कोशी सभापति छन् । केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्ण बहादुर खड्का दोस्रो स्थानमा छन् । ‘पार्टीको केन्द्रीय वरीयता अनुसार मर्यादाक्रम हुने डा. शेखरलाई भेटेर निमन्त्रणा पत्र दिएका हौं । त्यो बेला उहाँले केही भन्नु भएन’, प्रदेश कार्यसमितिका एक पदाधिकारीले भने । 

कोइरालाले गत १८ मंसिरमा विराटनगरमा पालिका सभापतिहरूको भेला राखेका थिए । उक्त भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला निकट नेताहरूको दाबी छ । यद्यपि, संस्थापन पक्षले भने उक्त दाबीको खण्डन गरेको छ ।