काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन उडेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, सुरक्षा निकायका प्रमुखलगायतले विदाइ गरेका थिए । भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मीलगायत ८७ छन् । भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन गएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् । प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै,उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन् । प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन् । यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
गठबन्धनका दलबीच चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन उडेका हुन् । बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो । बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्ततः सहमत जुटेको हो ।
प्रतिक्रिया