काठमाडाै । सहकारीकाे रकम हिनामिना गरेकाे प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग आजबाटै बयान लिइने भएको छ ।
ठगीमा नाम जोडिएपछि अनुसन्धान गर्न भन्दै उनलाई हिजाे साँझ पोखराबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली पुर्याएर उनलाई हिरासतमा राखिएको छ ।
उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको स्रोतले जानकारी दिएको छ ।यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौंमा पनि बयानको तयारी भएको हो ।
सोही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी र कुमार रम्तेलसँग भने बयान लिइसकिएको छ । काठमाडौं विमानस्थलबाट लैजाने क्रममा रास्वपा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनलाई यसअघि बुटवलमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो । रविविरुद्ध पाँच वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया