काठमाडाै । सहकारीको रकम हिनामिना काण्डमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीकाे काठमाडौंमा बयान सकिएको छ ।
गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीको आज(बिहीबार) काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।
काठमाडौंकोस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचनल गरेको जोशीमाथि आरोप रहेकाे छ ।सहकारी ठगी प्रकरणमै कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको थियो । बिहीबार जोशीको बयान सकिएको र भोलि शुक्रबार नै पोखरा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारी सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा जोशी गत असोज ६ गते पक्राउ परेका थिए । यही प्रकणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अब केही दिनमा उनलाई काठमाडौं झिकाएर बयान लिने प्रहरीको तयारी छ । जीबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै स्वर्णलक्ष्मीबाट ४६ लाख ८८ हजार रूपैयाँ ऋण लिएका खुलेको छ ।
भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रूपैयाँ तिर्न बाँकी देखिएको अनुसन्धानबाट खुलेको छ । यही प्रकरणमा जोडिएका कुमार रम्तेलसँग केही दिन पहिले बयान लिएर पोखरा पठाइएको छ । रवि र छविसहित १० जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा समेत पुरक जाहेरी परेको छ ।
प्रतिक्रिया