दुर्गा प्रसाईंलाई आज अदालत लगिदै

काठमाडाै । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) म्याद थपका लागि अदालत उपस्थित गराइदैछ ।

हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो।

उनलाई हिजो नै अदालत लाने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनु पर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको छ । अस्ती (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीमाथि सघन आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि कीर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए ।  उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ।