अहिले बिहान मन्त्रीपरिषदकाे बैठक बस्दै

काठमाडाै ।आज बिहान मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज (सोमबार) बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकले नियमित पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारलगायतका विषयमा आवश्यक निर्णय गर्नेछ । उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा हिजाे दिउँसो निधन भएको थियाे। 

सभामुख देवराज घिमिरेले आइतबार साँझ  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ। उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले  ‘कु’ गरेपछि  विद्यार्थीहरू आन्दोलनमा लागेका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए ।

३० वर्षको उमेरमा नेपाल बार एशोसिएसनको महासचिव भएका ढुंगाना झण्डै दुई दशक वकालत पेसामा संलग्न थिए । २०२८ सालमा नेपाल बार एशोसिएसनको महासचिव भएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गरेका ढुंगानाले ०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए ।

०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका ढुंगाना सभामुख भएका थिए । उनी ०५१ सालसम्म सभामुख भएका थिए । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । ०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजय भएसँग राजनीतिमा निस्क्रिय देखिएका थिए ।